Saturday, May 23, 2015

राज्यको उपस्थिति र सरकारको उपादेयता वारे जनताले स्पष्टिकरण माग्ने वेला आई सकेको छ !

राज्यको उपस्थिति र सरकारको उपादेयता वारे जनताले स्पष्टिकरण माग्ने वेला आई सकेको छ ! 

अव सधैं संत्राशमा वसेर हुंदैन; आंफू र आफ्नो परिवार सम्हाल्दै जे जस्तो सकिन्छ समाज र राष्ट्रको सेवामा समर्पित हुनु पर्दछ। यसमा राज्यको अहं भूमिका हुन्छ र नागरिकले त्यसमा होस्टे-हैंसे गर्ने हो। अहिले भुकम्प पीडितहरूको लागि उद्धार, राहत, पुनर्निर्माण र पुनर्वास समेतको व्यवस्थालाई आवश्यक पर्ने साधन र श्रोत परिचालन कसरी गर्ने यो नै मुख्य चुनौति हो। 

यसको निमित्त सरकारले फजुल खर्च कटौति गर्नु पर्दछ र सरकारवाटै नमुना उदाहरण प्रस्तुत गरिनु पर्दछ। मेरो प्रस्ताव के छ भने: 

(१) अव मंत्रालय र मन्त्रीहरूको संख्या अधिकतम १५ वटामा सीमित राखिनु पर्दछ। हाल नेपालमा २७ वटा मन्त्रालयहरू छन् र वहालवाला मन्त्रीहरूको संख्या २४ जना छ।

(२) अति भूकम्प पीडित १४ जिल्लाहरूमा उद्धार, राहत, पुनर्निर्माण र पुनर्वासको कार्यक्रम र कार्यान्वयनको निगरानी, नियन्त्रण र वागडोर प्रत्यक्ष रूपमा प्रधानमन्त्री र मातहतको कार्यालय मार्फत हुनु पर्दछ र यसलाई नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी, राष्ट्र सेवक कर्मचारी लगायत सम्पूर्ण स्वदेशी तथा विदेशी स्वयंसेवीहरूको सहयोगमा विकेन्द्रित पद्धति अनुसार युद्ध्-स्तरमा सम्पन्न गरिनु पर्दछ। 

(३) अहिले सम्म प्रधानमन्त्री उद्धार कोषमा जम्मा भएको रकम र वैदेशिक सहयोग समेत के कति आयो र कहां खर्च भयो र आगामी योजना के छ सरकारवाट पारदर्शी ढंगले जनतालाई अवगत गराईनु पर्दछ। 

(४) सम्पूर्ण सभासदहरू अनिवार्य रूपमा आफ्नो निर्वाचन क्षेत्रमा वसेर उद्धार, राहत, पुनर्निर्माण र पुनर्वासको कार्यक्रममा समन्वयकारी भूमिका निर्वाह गर्दै अहोरात्र खटनु पर्दछ। 

(५) यस्तो संकटको घडीमा पनि आफ्नो जिम्मेवारी निर्वाह नगर्ने, चर्को मूल्य लिने, सरकारी तहवील मास्ने, उद्धार र राहतको लागि आएको सहयोग दुरूपयोग गर्ने लगायत भ्रष्टाचारमा संलग्न कुनै पनि पेशा, व्यवसाय र क्षेत्रको कुनै पनि ओहोदा र तहको सरकारी वा गैह्र सरकारी व्यक्तिलाई सम्वन्धित निकायवाट हदै सम्मको सजाय हुनु पर्दछ। 

(६) भूकम्पको हल्ला फिजाएर जन-मानसमा आतंक फैलाउने समाज विरोधी तत्वहरूलाई कडा कारवाही हुनु पर्दछ; र 

(७) मुलुकमा शान्ती-सुरक्षाको प्रत्याभूति र जनता वीच अमन चयन, प्रेम, सद्भाव, सौहार्दता र पारस्परिक सहयोग अभिवृद्धि गर्न सरकारवाट आह्वान हुनु पर्दछ र यस्तो दुखद घडीमा पनि समाजमा आपसी घृणा फैलाउने, गृह युद्धको हुंकार गर्ने, राष्ट्रिय अखण्डता र अस्मिता माथि धावा वोल्ने कायर र अनैतिक व्यक्तिहरूलाई कडा कारवाही गरिनु पर्दछ। 
अन्यथा राज्यको उपस्थिति र सरकारको उपादेयता वारे जनताले स्पष्टिकरण माग्ने वेला आई सकेको छ। सरकारलाई चेतना भया ! 

Regards,
Madan Dahal

___________________________
Prof. Dr. Madan Kumar Dahal
Chairman, Mega Bank Nepal Ltd.
4th Floor, Rising Mall, Kathmandu

www.megabanknepal.com

No comments: